साइकलको ठक्करले बेहोश तीन वर्षीय बालकलाई पोखरीमा फाली भाग्ने किशोरी प्रहरीको फन्दामा

साइकलको ठक्करले बेहोश तीन वर्षीय बालकलाई पोखरीमा फाली भाग्ने किशोरी प्रहरीको फन्दामा


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, ७ साउन २०८३
  • 1K
    Shares

पोखरा, ७ साउन २०८३

आफूले चलाएको साइकलले ठक्कर दिएर बेहोश भएका तीन वर्षीय बालकलाई नजिकैको पोखरीमा लगेर फाली हत्या गरेको आरोपमा महोत्तरीमा एक किशोरी पक्राउ परेकी छिन।

महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिन्डा निवासी १५ वर्षीया एक किशोरीलाई आफ्नै गाउँको तीन वर्षीय बालक मनिकेश कुमार यादवको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेका अनुसार घटनाको दिन जेठ २२ गते ती किशोरी ३० किलो रासायनिक मल साइकलको पछाडि राखेर खेततर्फ जाँदै थिइन्। मुख्य सडकबाट भोला बाबा मन्दिरतर्फ जाने क्रममा सडकमा हिँडिरहेका बालक साइकलमा ठोक्किएका थिए। त्यसक्रममा किशोरी पनि साइकलबाट लडेकी थिइन्।

साइकलबाट उठेपछि ती किशोरीले बालकलाई हेर्दा बेहोस अवस्थामा थिए। बालकको मृत्यु भइसकेको ठानेपछि घटना लुकाउने उद्देश्यले उनले बालकलाई बोरामा राखेर करिब तीन सय मिटर टाढा रहेको पोखरीमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शव बोरामा हालेर पोखरीमा फालिएको अवस्थामा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। शव पोखरीमा फाल्नुअघि बालकले लगाएको चाँदीको बाला समेत निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले किशोरीलाई शंकाका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनाको वास्तविकता खुलेको डीएसपी गोलेले बताए। किशोरीको साथबाट बालकको चाँदीको बाला समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले किशोरीलाई यही असार ५ गते घरबाटै नियन्त्रणमा लिएको हो। उनलाई महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गोलेले जानकारी दिए।

प्रतिक्रिया