बारा, ८ साउन २०८३।
बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अरबिन्द साहको विरोध गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
सांसद् साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएका बारा निवासी निजामुद्दिन अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार सांसद् साहले बुधबार उजुरी दिएपछि अन्सारीलाई सोही दिन दिउँसो नियन्त्रणमा लिइएको हो। उनलाई बिहीबार अदालतमा पेस गर्ने तयारी गरिएको उनले जानकारी दिए।
‘अहिले उहाँलाई प्रहरी हिरासतमा राखिएको छ। अब कसुरको प्रकृति हेरेर अदालती प्रक्रियामा अघि बढ्छ। त्यसका लागि तयारी भइरहेको छ,’ एसपी कुँवरले भने।
उनका अनुसार विद्युतीय कारोबार ऐनअन्तर्गत घृणा, द्वेष तथा अफवाह फैलाउने गतिविधिमाथि कानुनी कारबाही हुने व्यवस्था छ। सांसद् साहको उजुरीका आधारमा अन्सारीलाई नियन्त्रणमा लिइएको उनले बताए।
अन्सारीले फेसबुकमा सांसद् साहले चुनावका बेला गरेका प्रतिबद्धताअनुसार काम नगरेको आरोप लगाउँदै आक्रामक अभिव्यक्ति दिएका थिए। सोही पोस्टलाई आधार बनाएर सांसद् साहले प्रहरीमा उजुरी दिएको बताइएको छ।
अन्सारीले फेसबुकमा लेखेका थिए, ‘मेरो ओपन च्यालेन्ज छ । कालो मसी दल्ने कार्यक्रम बारा निर्वाचन क्षेत्र नम्बर ३ का माननीय अरबिन्द साहलाई जुन ठाउँमा भेटिन्छ, त्यहीँ दल्ने हो । आफ्नो मेनिफेस्टोअनुसार १ प्रतिशत पनि काम नगरेको जनताले खुलासा गरिरहेका छन् ।’
यसअघि अर्को पोस्टमा उनले सांसद् साहलाई चुनावी घोषणापत्रअनुसार गरेको कामबारे प्रश्न गर्दै लेखेका थिए, ‘बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का माननीय अरबिन्द साहज्यू, तपाईं क्षेत्र अनुगमन गर्न आउनुभएको रहेछ भन्ने सुनेको छु । तपाईंले चुनावी घोषणापत्रअनुसार के काम गर्नुभयो ? यदि गर्नुभएको छैन भने कालो मसी दलेर फेरि काठमाडौं पठाउनेछौँ । भरतचोकमा भेट्नुस्, म कालो मसी दल्नेछु । तपाईंलाई मेरो ओपन च्यालेन्ज छ ।’
यता, अन्सारीका एक निकटस्थले भने उनले सामाजिक सञ्जालमा असन्तुष्टि मात्र व्यक्त गरेको र सांसद् साह निर्वाचन क्षेत्रमा पुगेका बेला कुनै भौतिक विरोध कार्यक्रममा सहभागी नभएको दाबी गरेका छन्।
‘उसले असन्तुष्टि पोख्दै फेसबुकमा पोस्ट गरेको हो। नेपाली उसको पहिलो भाषा नभएकाले लेखाइमा केही त्रुटि भएको हुन सक्छ,’ ती निकटस्थले भने, ‘यति लेखेकै आधारमा हिरासतमा लिन आवश्यक थियो र ? अब बोल्न पनि नपाइने भयो ?’