पोखरा , ६ साउन २०८३।
दैलेखमा शंकास्पद विषाक्तताले आमा–छोराको मृत्यु
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ खाडाकी २७ वर्षीया कमला रावल र उनका ९ वर्षीय छोरा आयुष रावलको शंकास्पद विषाक्तताका कारण मृत्यु भएको छ।
सोमबार बिहान दुवैलाई रिंगटा लाग्ने, शरीर झमझमाउने लगायतका समस्या देखिएपछि उपचारका लागि लैजाँदै गर्दा आयुषको बाटोमै मृत्यु भएको थियो। कमलालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत रिफर गरिएकोमा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक रूपमा जंगली च्याउको विषाक्तता वा सर्पदंश हुन सक्ने अनुमान गरिएको भए पनि मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।