काठमाडौँ, ६ साउन २०८३।
काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार क्षेत्रमा सडक पेटीमा तरकारी बिक्री गर्दै आएका एक व्यवसायीले व्यापारमा अवरोध भएको गुनासो गर्दै आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार जीवन अधिकारीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले तत्काल हस्तक्षेप गरी उनलाई सुरक्षित उद्धार गरेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अधिकारी लामो समयदेखि नयाँबजार क्षेत्रमा सडक पेटीमा तरकारी बिक्री गर्दै आएका थिए। कीर्तिपुर नगरपालिकाले कार्यालय समयभर सडक पेटीमा व्यापार गर्न रोक लगाई साँझ ६ बजेदेखि मात्र व्यापार गर्न पाउने व्यवस्था लागू गरेपछि उनको आम्दानीमा प्रत्यक्ष असर परेको बताइएको छ।
नगर प्रहरीले सडक पेटी खाली गराउने अभियान सञ्चालन गरेपछि आफ्नो जीविकोपार्जन संकटमा परेको भन्दै अधिकारी असन्तुष्ट बनेका थिए। सोही असन्तुष्टिका बीच उनले चरम कदम चाल्न खोजेको प्रहरीले जनाएको छ।
प्रहरीले समयमै उद्धार गरेपछि अधिकारीलाई सम्झाइबुझाइ गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
यस घटनाले काठमाडौं उपत्यकामा सडक व्यापारको व्यवस्थापन, साना व्यवसायीको जीविकोपार्जनको सुरक्षा तथा वैकल्पिक रोजगारीको व्यवस्थाबारे पुनः बहस शुरु गराएको छ।