काठमाडौं, ५ साउन २०८३।
काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा आगलागी हुँदा चालकको कारभित्रै जलेर मृत्यु भएको छ।
ट्याङ्लाफाँटस्थित चाँदनी चोक नजिक मंगलबार गुडिरहेको बा ५ च ३०३८ नम्बरको किया (Kia) कारमा आगलागी हुँदा चालक
गुडिरहेका बेला एक्कासि आगो दन्किएको थियो। आगो फैलिन थालेपछि चालकले कारबाट बाहिर निस्कने प्रयास गरे पनि सफल हुन नसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार आगो निभाएपछि गरिएको निरीक्षणमा चालक सिट बेल्ट लगाएकै अवस्थामा जलेर मृत फेला परेका थिए। मृतकको परिचय भने समाचार तयार पार्दासम्म खुल्न सकेको छैन।
घटनालगत्तै स्थानीय बासिन्दा, प्रहरी र सुरक्षाकर्मीले फायर एक्स्टिङ्गुइसर प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। त्यसपछि दमकल घटनास्थलमा पुगेर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आगलागीका कारण कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाउने तयारी गरेको छ। मृतकको पहिचान खुलाउन तथा आफन्तको खोजी गर्ने कामसमेत भइरहेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। कारको विद्युतीय प्रणाली (इलेक्ट्रिकल सर्ट), इन्धन प्रणालीमा आएको खराबी वा अन्य प्राविधिक कारणमध्ये कुनै कारणले आगलागी भएको हो कि भन्ने विषयमा प्राविधिक टोलीमार्फत अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी आगलागीको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ। साथै, प्रत्यक्षदर्शीसँग सोधपुछ र सिसिटिभी फुटेजको अध्ययनसमेत अघि बढाइएको छ।