काठमाडौं, ५ साउन २०८३।
भक्तपुरमा जन्मदिन मनाउने क्रममा भएको विवाद र कुटाकुटमा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका राज कार्की रहेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपककुमार कार्कीका अनुसार आइतबार राति घ्याम्पेडाँडामा जन्मदिन मनाउन करिब ३०–४० जना भेला भएका थिए। खानपिनका क्रममा सामान्य विवाद चर्किँदै कुटाकुटमा परिणत हुँदा राज गम्भीर घाइते भएका थिए। उपचाररत कार्कीको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आशंकामा घटनास्थलमा रहेका करिब ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। मृतकको शव हाल दुवाकोट अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।