पाेखरा, ५ साउन २०८३।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट आइतबार राति रहस्यमय रूपमा बेपत्ता भएको मालबाहक ट्रक चितवनको रामनगर क्षेत्रमा फेला परेको छ। ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि चालकको जिम्मेवारीमा रहेका सहचालक घटनास्थलबाट फरार भएका छन्।
प्रहरीका अनुसार ना६ख १३५७ नम्बरको ट्रक नारायण–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगर पानीटंकी नजिक भेटिएको हो। मुग्लिनतर्फ जाँदै गरेको म.प्र.०३–००१ख ९५२१ नम्बरको यात्रुवाहक बसलाई ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिएको थियो। दुर्घटनापछि ट्रक छाडेर सहचालक फरार भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी पथलैयाका वरिष्ठ प्रहरी नायब निरीक्षक युवराज दाहालका अनुसार ट्रक हाल प्रहरीको नियन्त्रणमा सुरक्षित राखिएको छ भने फरार सहचालकको खोजी तीव्र बनाइएको छ।
उक्त ट्रक स्थानीय सोम गुरुङको स्वामित्वमा रहेको हो। ट्रकका चालक पथलैयाका ३१ वर्षीय अनोज थापाले आइतबार राति ट्रक पार्किङ गरी चाबी सहचालक अर्जुनलाई जिम्मा लगाएर घर फर्किएका थिए। सोमबार बिहान काममा आउँदा ट्रक गायब भएको देखेपछि उनले तत्काल प्रहरीलाई जानकारी गराएका थिए।
अनुसन्धानका क्रममा राति करिब ११ बजे सहचालकले पार्किङस्थलबाट ट्रक लिएर निस्किएको दृश्य सीसीटीभी फुटेजमा देखिएको थियो। त्यसपछि प्रहरीले विभिन्न स्थानका सीसीटीभी फुटेजको अध्ययन गर्दै खोजी अघि बढाएको थियो।
प्रहरीका अनुसार फरार सहचालक केही दिनअघि मात्रै उक्त ट्रकमा काम गर्न आएका थिए। चालकसँग समेत उनको पूर्ण परिचय र ठेगाना सम्बन्धी विवरण उपलब्ध नभएकाले खोजी कार्यमा चुनौती थपिएको छ। प्रहरीले सहचालकको पहिचान खुलाउने र पक्राउ गर्ने प्रयास जारी रहेको जनाएको छ।