पोखरा ४ साउन २०८३।
भारतको त्रिपुरा राज्यका प्रहरी महानिर्देशक (डीजीपी) अनुराग धनखड सोमबार अगरतलास्थित राज्य प्रहरी मुख्यालयभित्र रहेको आफ्नै कार्यालयको शौचालयमा मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार धनखड दिउँसो कार्यालयको चेम्बरसँगै रहेको शौचालयमा अचेत अवस्थामा भेटिएका थिए। तत्काल उनलाई अगरतला सरकारी मेडिकल कलेज तथा गोविन्द बल्लभ पन्त अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
अस्पतालका चिकित्सा विभाग प्रमुख डा. प्रदीप भौमिकका अनुसार धनखडलाई अस्पताल ल्याउँदा कुनै पनि जीवन संकेत थिएन। चिकित्सकीय परीक्षणपछि उनको मृत्यु पुष्टि गरिएको उनले बताए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ त्रिपुराका मुख्यमन्त्री माणिक साहा, मुख्य सचिव जेके सिन्हालगायत प्रदेश सरकारका वरिष्ठ अधिकारी अस्पताल पुगेका थिए।
प्रहरीले धनखडको मृत्युको कारण खुलिनसकेको जनाएको छ। शव पोस्टमार्टमका लागि पठाइएको र त्यसको प्रतिवेदन आएपछि मात्रै मृत्युको वास्तविक कारणबारे स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।
सन् १९९४ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकारी धनखडले सन् २०२५ मे १७ मा त्रिपुराको प्रहरी महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनी राज्यको गुप्तचर विभागका प्रहरी महानिर्देशकका रूपमा कार्यरत थिए।
उनले करिब आठ वर्ष भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) मा सेवा दिएका थिए। साथै सन् २००३–०४ मा कोसोभोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा समेत कार्य अनुभव हासिल गरेका थिए।