पर्वत, २ साउन २०८३।
पर्वतमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर कुश्मा नगरपालिका–९ एकोहोरेपाठास्थित दोबिल्ला–फलेवास सडक खण्डमा शुक्रबार दिउँसो करिब २:३० बजे भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका हुन्।
प्रहरीका अनुसार , दुर्घटनामा कुश्मा नगरपालिका–७ का अन्दाजी २८ वर्षीय सुजन नेपाली र ट्याक्टरमा सवार कुश्मा नगरपालिका–९ साइकलचोकका अन्दाजी १४ वर्षीय शिशिर लामिछाने गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कुश्मा लगिएकोमा चिकित्सकले अपराह्न ४:२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१७ बिरौटामा बस्दै आएका २२ वर्षीय उदय सापकोटा दुवै खुट्टामा चोट लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
उक्त ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको नेतृत्वमा १२ जना र सशस्त्र प्रहरी बलबाट सशस्त्र प्रहरी निरीक्षक पर्वतराज खड्काको नेतृत्वमा १५ जनाको उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।
ट्याक्टर दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।