पोखरा, २ साउन २०८३।
पर्यटकीय नगरी पोखरामा पर्यटकहरु घुम्न आउने मात्रे हैन, चोरी गर्न पनि आउने गरेको देखिएको छ।
पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न व्यक्तिहरु पक्राउ गर्दा त्यस्तो देखिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा चोरीका घटना गराउने गिरोहका नौ जनालाई पक्राउ गरेकोमा ती मध्ये दुई जना भारतीय र दुई जना चिनियाँ रहेका छन् ।
प्रहरीका अनुसार , पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश निवासी २३ वर्षीय राहुल निषाद, महाराष्ट्र निवासी ४० वर्षीय सोमनाथ हनुमन्त जाधव, चीनको गुइझोउ निवासी ३० वर्षीय वेन जिए र शान्डोङ निवासी ३७ वर्षीय वाङ लियानयिन रहेका छन्।
यस्तै नेपाली नागरिकतर्फ स्याङ्जाका राजकुमार बिक, कास्कीका खिमबहादुर क्षेत्री (राजु केसी), अर्घाखाँचीका अशोक पोखरेल, कास्कीका केशव पाइजा मगर र बागलुङका अनिल बिक पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेका उनीहरुबिरुद्ध पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा भएका चोरीका घटनामा संलग्न रहेको आरोप लागेको छ।
प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, १ थान ल्यापटप, १ थान स्मार्ट घडी, सुनको ब्रासलेट, विभिन्न परिमाणका सुनका ढिक्का र टुक्रा तथा २ लाख १ हजार २२० रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै अभियुक्तविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले मुख्यतः मध्यरात तथा बिहानको सुनसान समयको मौका छोपी व्यक्तिगत घर तथा डेरालाई निशाना बनाउने गरेको खुलेको छ।
अनुसन्धानका क्रममा गिरोहले असार ४ गते पोखरा–१७ छोरेपाटनस्थित एक घरबाट करिब आधा तोला सुन, एक लाख ५० हजार रुपैयाँ नगद, एक थान ल्यापटप र एक थान मोबाइल चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।
त्यसैगरी असार १४ गते पोखरा–१८ मणिमार्गस्थित एक घरबाट करिब २५ तोला सुनका गरगहना र ७० हजार रुपैयाँ नगद चोरी गरिएको थियो। असार १५ गते पोखरा–१८ भकुण्डेस्थित अर्को घरबाट दुई थान मोबाइल र सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।
यस्तै असार २३ गते पोखरा–८ ज्ञानकुञ्ज मार्गस्थित एक कोठाबाट मोबाइल र २५ हजार रुपैयाँ नगद तथा सोही राति पोखरा–६ लेकसाइडस्थित अर्को घरबाट आइफोनसहित विभिन्न सामान चोरी भएको घटनामा पनि यही गिरोहको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
कास्की प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।