पोखरा, २ साउन २०८३।
भारतको राजधानी दिल्लीस्थित जन्तर–मन्तरमा २१ दिनदेखि आमरण अनशनमा बसेका शिक्षाविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएर सफदरजंग अस्पतालमा भर्ना गरेको छ।
वाङचुकलाई प्रहरीले अस्पताल लैजाँदा प्रदर्शनकारीहरूले विरोध जनाउँदै अवरोध सिर्जना गरेका थिए। त्यसपछि केही समय जन्तर–मन्तर क्षेत्र तनावग्रस्त बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले प्रदर्शनकारीहरूलाई हटाएर वाङचुकलाई उपचारका लागि अस्पताल पुर्याएको बताइएको छ।
वाङचुक प्रश्नपत्र (पेपर) लिक प्रकरणको निष्पक्ष छानबिन तथा भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विगत २१ दिनदेखि आमरण अनशनमा बसेका थिए। लामो समयदेखि भोजन नगरेकाले उनको स्वास्थ्य अवस्था लगातार कमजोर बन्दै गएको चिकित्सकहरूले बताएका छन्। हालसम्म उनको तौल ९.५ किलोग्रामभन्दा बढी घटेको छ।
चिकित्सकका अनुसार शुक्रबार मात्रै २४ घण्टाको अवधिमा उनको तौल ३५० ग्रामले घटेर ५६.५५ किलोग्राममा झरेको थियो।
यसअघि बिहीबार दिल्ली उच्च अदालतले केन्द्र सरकार र दिल्ली सरकारलाई वाङचुकको दैनिक स्वास्थ्य परीक्षण गर्न तथा आवश्यक परे तत्काल उपचारको व्यवस्था गर्न निर्देशन दिएको थियो।
वाङचुकसँगै अखिल भारतीय विद्यार्थी संघ (एआईएसए) का नेहा, आमीन र मनीष पनि २१ दिनदेखि आमरण अनशनमा छन्। नेहामा गम्भीर हाइपोग्लाइसेमिया (रगतमा चिनीको मात्रा अत्यधिक घट्ने अवस्था) देखिएपछि चिकित्सकहरूले तत्काल अस्पताल भर्ना गर्न सिफारिस गरेका छन्। आमीन र मनीषको स्वास्थ्य अवस्था पनि निरन्तर खस्किँदै गएको बताइएको छ।
प्रदर्शनमा सहभागी एक व्यक्तिका अनुसार शनिबार बिहान करिब १० जना व्यक्तिहरू मेडिकल टोलीका सदस्यका रूपमा प्रदर्शनस्थलमा प्रवेश गरेका थिए। तर उनीहरू चिकित्सक नभई सादा पोशाकका प्रहरी रहेको उनले दाबी गरेका छन्।
उनका अनुसार प्रहरीले स्वयंसेवकहरूलाई एकातिर हट्न आग्रह गर्दै उच्च अदालतको आदेशअनुसार वाङचुकलाई उपचारका लागि लैजानुपर्ने जानकारी दिएको थियो। सोही क्रममा प्रदर्शनमा संलग्न अभिजीत नामका अर्का व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको आशंका गरिएको छ। उनका अनुसार अभिजीत त्यसयता सम्पर्कविहीन छन्।
यस घटनापछि जन्तर–मन्तर क्षेत्रमा केहीबेर तनावको अवस्था सिर्जना भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।