काठमाडौं, २ साउन २०८३।
काठमाडौं महानगरपालिका–४ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शुक्रबार दिउँसो पाँच वटा सवारी साधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीका अनुसार सुकेधाराबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बिआर–०६ डिडि ६०६३ नम्बरको भारतीय कार र विपरीत दिशाबाट आउँदै गरेको बा.२ ज ३५७८ नम्बरको ट्याक्सी पहिलो चरणमा आपसमा ठोक्किएका थिए।
सोही दुर्घटनापछि सुकेधारातर्फ गइरहेका तीन वटा मोटरसाइकल पनि एकआपसमा ठोक्किँदा श्रृंखलाबद्ध दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बागमती प्रदेश–०२–०६८ प १०५६, बा.७३ प ३७२३ र लु.११ प ४९७५ नम्बरका मोटरसाइकल संलग्न रहेका थिए।
दुर्घटनामा ट्याक्सी चालक रामेछाप खाँडादेवीका ४१ वर्षीय ऊर्जा लामा, सर्लाहीका बिक्की साह (३४), तेह्रथुमकी विष्णु माया खापुङ (५७), काठमाडौं टोखाकी कुन्ती माया लिम्बु (६५), सर्लाही बागमती नगरपालिकाका नियोजित साह (१८), उदयपुरकी पार्वती तामाङ (२६), नवलपरासीका जीवन राना (२२) र विनोद थापामगर (२५), साथै बाँकेको बैजनाथ नगरपालिका–५ का शिवानी शाही (१५) र सुशान्त शाही (१०) घाइते भएका छन्।
प्रहरीका अनुसार घाइते सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।