देवघाटबाट सम्पर्कविहीन सन्तोषी श्रेष्ठ मृत अवस्थामा भेटिएको दाबी

देवघाटबाट सम्पर्कविहीन सन्तोषी श्रेष्ठ मृत अवस्थामा भेटिएको दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ साउन २०८३
  • 456
    Shares

तनहुँ, २ साउन २०८३।

करीब १९ दिन अघि तनहुँको देवघाट क्षेत्रबाट बेपत्ता तनहुँको बन्दीपुर गाउँपालिका–४ निवासी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा भेटिएको समाचार सार्वजनिक भएको छ।

नर्सिङ बिषयमा स्नातक तेस्रो वर्षमा अध्ययनरत रहेकी श्रेष्ठ नवलपरासीको त्रिवेणीधाममा मृत अवस्थामा भेटिएको समाचार तनहुँको शुक्लागण्डकी एफएमले सार्वजनिक गरेको छ।

कपडा तथा शरीरमा रहेका गहनाका आधारमा उक्त शब सन्तोषी श्रेष्ठको भएको भन्दै उनका परिवारजनले सनाखत गरिदिएको र पोस्टमार्टम पछि उनको अन्त्येष्टि समेत गरिसकिएको उक्त समाचारमा उल्लेख छ। तर, यो समाचार तयार पार्दासम्म उक्त विवरणको नेपाल प्रहरी, जिल्ला प्रशासन वा अन्य आधिकारिक निकायबाट पुष्टि भएको छैन।

प्राप्त विवरण अनुसार, गएकाे असार १४ गते साँझदेखि सम्पर्कविहीन भएकी श्रेष्ठको शव नारायणी नदीले बगाएर भारतीय क्षेत्रमा पुर्‍याएको अवस्थामा फेला परेको हो। पारिवारिक स्रोत र सुरक्षा निकायका अनुसार, असार १७ गते नै त्रिवेणीभन्दा पारि भारतीय क्षेत्रमा एक महिलाको शव फेला परेको थियो। पहिचान नखुलेका कारण भारतीय सुरक्षाकर्मीले कानुनी प्रक्रिया पूरा गरी शवको व्यवस्थापन (डिस्पोज) गरिसकेका थिए।

तर, भारतीय प्रहरीले प्रमाणका रूपमा सुरक्षित राखेका शवको फोटो र भिडियो नेपालमा रहेका आफन्तलाई उपलब्ध गराएपछि उक्त शव सन्तोषीकै भएको पुष्टि भएको हो। फोटो र भिडियोका अतिरिक्त सन्तोषीले हराएको दिन लगाएको कुर्ता, विन्डप्रुफ ज्याकेट र हातको औंठी समेत भारतीय प्रहरीले आफन्तलाई बुझाएको छ। प्राप्त सामान र भिजुअलका आधारमा परिवारले उनको पहिचान सुनिश्चित गरेका हुन्।

भौतिक शरीर भारतीय क्षेत्रमै विसर्जन भइसकेको भए तापनि, धार्मिक एवं पारिवारिक परम्पराअनुसार आज देवघाट धाममा उनको विधिवत् अन्त्येष्टि र उत्तरक्रियाका प्रक्रियाहरू सुरु गरिएको छ। मृतकको कपाल, कुश वा उपलब्ध स्मृति चिह्नलाई प्रतीक मानी हिन्दू संस्कारअनुसार आज देवघाटमा अन्य अन्त्येष्टिका प्रक्रियाहरू सम्पन्न गरिएको पारिवारिक स्रोतले जनाएको छ।

गएको असार १४ गते साँझ करिब ८ बजे नवलपुरको गैँडाकोटस्थित डेराकोठाबाट बा.प्र.०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। खोजीका क्रममा उक्त स्कुटर देवघाटको हनुमानचोकमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली तथा परिवारले नारायणी नदी र आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरेका थिए।

प्रतिक्रिया