पोखराका सार्वजनिक बसमा महिलाको पर्स चोरी गर्ने तीन जना पाकेटमार पक्राउ

पोखराका सार्वजनिक बसमा महिलाको पर्स चोरी गर्ने तीन जना पाकेटमार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ साउन २०८३
  • 2.1K
    Shares

pocketmar , पाकेटमार

पोखरा, १ साउन २०८३।

पोखराका सार्वजनिक बसमा महिलाको पर्स चोरी गर्ने तीन जना पाकेटमार पक्राउ परेका छन्।

बिहिबार दिउसो कास्कीको रूपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा सवार स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ राङ्खोला निवासी २९ वर्षीया अनिता श्रेष्ठको रातो रंगको लेडिज पर्स चोरी गरेको आरोपमा तीन जना पाकेटमारहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा रौतहटको चन्द्रपुर नगरपालिका–१५ निवासी ४२ वर्षीय गुरु प्रसाद बजगाई, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ स्थायी घर भई हाल पोखरा महानगरपालिका–९ शान्तिवन बस्ने ३४ वर्षीय रविन खड्का तथा झापाको कनकाई नगरपालिका–८ स्थायी घर भई हाल पोखरा महानगरपालिका–६ खहरे बस्ने ४५ वर्षीय टेकबहादुर भुजेल (सूर्य) रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अनिता श्रेष्ठको रातो रंगको लेडिज पर्स चोरी भएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ।

उनीहरुको साथबाट चोरी भएको पर्सभित्र रहेको सुनका टुक्राटुक्रा र चाँदीका दुई वटा बेरुवा औँठी बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया