पोखरा , १ साउन २०८३।
झापाको बाह्रदशी गाउँपालिका–१ साधुपट्टीस्थित अदुवा खोलामाथिको पुरानो काठे पुल भाँचिँदा एक मारुती भ्यान खोलामा खसेको छ।
झापाको भागुडुब्बाबाट साधुपट्टीतर्फ जाँदै गरेको मे १ च ३७६७ नम्बरको मारुती भ्यान बिहीबार साँझ करिब ६ बजे करिब २० मिटर लामो काठे पुल तर्ने क्रममा पुल भाँचिएपछि खोलामा खसेको हो।
दुर्घटनामा भ्यानमा सामान्य क्षति पुगेको भए पनि चालकसहित सवार सबै सकुशल रहेको जिल्ला प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी नायब निरीक्षक जबरबहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक उद्धार तथा व्यवस्थापनपछि भ्यानलाई खोलाबाट निकालेर सम्बन्धित धनीलाई जिम्मा लगाएको जनाएको छ।
दुर्घटनापछि पूर्ण रूपमा क्षति पुगेको उक्त काठे पुलको दुवै छेउमा ढुंगा र बाँस राखेर आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। स्थानीयवासीले भने नजिकै निर्माणाधीन नयाँ पक्की पुल प्रयोग गरी पैदल आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।