रौतहटमा पनि २८ वर्षीय युवकद्वारा आत्मदाहको प्रयास

रौतहटमा पनि २८ वर्षीय युवकद्वारा आत्मदाहको प्रयास


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ असार २०८३
  • 817
    Shares

patient in hospital : एआईले तयार पारेको सांकेतिक चित्र

पोखरा, ३१ असार २०८३।

सर्लाहीमा आत्मदाहको प्रयास गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको केही घण्टामै रौतहटमा पनि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ।

गरुडा–९ का वडा अध्यक्ष राजेश सहनीका अनुसार गौतम केही समयदेखि मानसिक तनाव र डिप्रेसनबाट गुज्रिरहेका थिए। उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

गौतम गरुडा बजारस्थित झाझ पुलनजिक छाप्रे होटल सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायबाट उनले आफ्ना तीन छोरा र परिवारको जीविकोपार्जन गर्दै आएका थिए।

घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। उपचारमा संलग्न स्रोतका अनुसार उनको शरीरको करिब ३५ प्रतिशत भाग जलेको छ।

यसअघि गत शुक्रबार सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए। शरीरको करिब ८५ प्रतिशत भाग जलेका उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा मंगलबार उनको निधन भएको थियो।

सर्लाहीको घटनापछि केही दिनमै रौतहटमा पनि यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, समयमै उपचार तथा सामाजिक सहयोगको आवश्यकता अझ गम्भीर रूपमा देखिएको छ। रौतहट घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।एआईले तयार पारेको सांकेतिक चित्र

प्रतिक्रिया