विराटनगर ३१ असार २०८३।
मोरङको सौर्य बचत तथा ऋण सहकारी संस्था सञ्चालक तथा अध्यक्ष पवन झा जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट पक्राउ परेका छन्।
काम विशेषले मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका सप्तरी स्थायी घर भई विराटनगर महानगरपालिका–३ मा बसोबास गर्दै आएका ४० वर्षीय झालाई प्रहरीले सहकारीको रकम हिनामिना, सर्वसाधारणलाई ठगी तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ परेका हुन्। झाविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको थियो र उनी लामो समयदेखि फरार सूचीमा रहेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, प्रहरीको प्रारम्भिक अनुसन्धानले झाले सहकारीको रकम हिनामिना गर्नुका साथै सहकारीबाहिरका सर्वसाधारणलाई समेत विभिन्न समयमा ठगी गरेको देखाएको छ। उनीविरुद्ध सहकारी ठगी, बैंकिङ कसुर तथा अन्य आर्थिक अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
डीएसपी मिश्रका अनुसार झाविरुद्ध विभिन्न व्यक्तिबाट ठगीसम्बन्धी उजुरीसमेत प्राप्त भएका छन्। बैंकिङ कसुरसम्बन्धी जाहेरी दर्ता भएको जानकारी पनि प्रहरीसँग रहेको उनले बताए।
प्रहरीका अनुसार यसअघि नै जिल्ला प्रशासन कार्यालय मोरङमा झाविरुद्ध ठगीको आरोप लगाउँदै धेरै व्यक्तिले उजुरी दिएका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।