पोखरा, २९ असार २०८३ ।
भारतीय नम्बर प्लेटको कारमा ठुलो मात्रामा लागू औषध लिएर पोखरा आउंदै गरेका पांच जना भारतीय युवा पक्राउ परेका छन्।
भारतीय नम्बर UP53EY7704 रहेको कारमा पोखरा आउंदै गरेका पांच जना भारतीय युवाहरु पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवा क्षेत्रबाट ठुलो मात्रामा अबैध लागू औषधसहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेश, गोरखपुरका २७ वर्षीय विकाश कुमार, २९ वर्षीय आशिष कुमार, २९ वर्षीय अभय कुमार मिश्रा, ३३ वर्षीय पृतम कुमार र २५ वर्षीय अबिशेक कुमार रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानाकारी दिएको छ। उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरो पोखरा र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको संयुक्त टोलीले आइतबार राती करीब १० बजे पक्राउ गरिएको प्रहरीले जिकिर गरेको छ।
उनीहरु सवार उक्त कार मजुवामा चेकजांच गर्ने क्रममा उनीहरुको साथबाट डाइजापाम ६०० एम्पुल, फेनरागन छसय ४८ एम्पुल र बुप्रिनोर्फिन ६०० एम्पुल गरी कुल एक हजार आठसय ४८ एम्पुल लागूऔषध बरामद गरेको जनाएको छ। त्यस्तै नाइट्रोभ्याट ३० ट्याब्लेट, ट्यापेन्टाडोल १०० ट्याब्लेट, ट्रामाडोल ३८० ट्याब्लेट तथा पाँच थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले पक्राउ परेका पाँचै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।