पोखरा, २९ असार २०८३ ।
भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस (BNS) तेस्रो वर्षमा अध्ययनरत २८ वर्षीया सन्तोषी श्रेष्ठ विगत १३ दिनदेखि सम्पर्कविहीन रहेकी छन्। असार १४ गते साँझ घरबाट स्कुटर लिएर निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि परिवार चिन्तित बनेको छ भने खोजी कार्यलाई तीव्र बनाइएको छ।
तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थायी घर भई हाल नवलपुरको गैंडाकोट नगरपालिका–२ मा बसोबास गर्दै आएकी सन्तोषी असार १४ गते साँझ करिब ८ बजे बा.प्र. ०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन्। त्यसयता उनी परिवारको सम्पर्कमा नआएको र उनको मोबाइलसमेत सम्पर्कविहीन रहेको जनाइएको छ।
खोजतलासका क्रममा सन्तोषीले चलाएको स्कुटर चितवनको देवघाटस्थित हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो। तर, स्कुटर फेला परे पनि सन्तोषीको अवस्था र उनी कहाँ गइन् भन्नेबारे हालसम्म कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।
परिवारका सदस्य, आफन्त, स्थानीयवासी तथा नेपाल प्रहरीले विभिन्न सम्भावित स्थानमा खोजी जारी राखे पनि १३ दिन बितिसक्दा समेत उनको अत्तोपत्तो लाग्न नसकेको परिवारले जनाएको छ। घटनापछि परिवारले खोजी कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न स्थानमा सन्तोषीको फोटोसहितका फ्लेक्स तथा सूचना बोर्डसमेत टाँसेर सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।
परिवारले सन्तोषीलाई कतै देख्नुभएको, भेट्नुभएको वा उनीसँग सम्बन्धित कुनै पनि जानकारी प्राप्त भएको भए नजिकको प्रहरी कार्यालय वा सम्बन्धित सुरक्षा निकायमा तत्काल जानकारी गराइदिन सबैसँग अनुरोध गरेको छ।
प्रहरीले पनि बेपत्तासम्बन्धी घटनाको विभिन्न कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ। परिवारले छिट्टै सन्तोषी सकुशल फेला परून् भन्ने अपेक्षासहित सर्वसाधारणलाई खोजी अभियानमा सहयोग गर्न आग्रह गरेको छ।