भारतीयलाई नेपाली नागरिकता बनाई दिएको आरोपमा सर्लाहीबाट दुई जना पक्राउ

भारतीयलाई नेपाली नागरिकता बनाई दिएको आरोपमा सर्लाहीबाट दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ असार २०८३
  • 1.3K
    Shares

nepali citizen to indian

पोखरा, २९ असार २०८३ । 

 किर्ते कागजात प्रयोग गरी भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–७ का मनोजकुमार दास र भारतका नागरिक चन्दन कुमार रहेका छन्। हाल मनोज काठमाडौंको पिङ्लास्थानमा बस्दै आएका थिए।

नेपाल प्रहरीका अनुसार मनोजले आफ्ना भान्जा नाता पर्ने भारतीय नागरिक चन्दन कुमारलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट किर्ते कागजातका आधारमा नेपाली नागरिकता बनाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीको अनुसन्धानमा चन्दन र उनका बुबा अनिल साह नेपालमा बसोबास गर्दै आए पनि उनीहरू भारतीय नागरिक रहेको खुलेको छ। उनीहरूले किर्ते कागजात प्रयोग गरी २०८२ मंसिर २५ गते नेपाली नागरिकता र राष्ट्रिय परिचयपत्रसमेत प्राप्त गरेको प्रहरीको दाबी छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट चन्दन कुमारको नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance Certificate) तथा भारतीय आधार कार्ड बरामद गरेको जनाएको छ। त्यसैगरी मनोजकुमार दासको नागरिकताको प्रतिलिपि र चन्दनका बुबा अनिल साहको भारतीय मतदाता परिचयपत्र (Voter ID Card) समेत फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई हिरासतमा राखी नागरिकता किर्ते तथा सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया