लागूऔषध सेवनपछि बोलेरो दुर्घटना गराउने चालक बागलुङमा पक्राउ

लागूऔषध सेवनपछि बोलेरो दुर्घटना गराउने चालक बागलुङमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ असार २०८३
  • 1.6K
    Shares

baglung jeep accident

बागलुङ, २८ असार २०८३।

बागलुङ नगरपालिका–९ अदुवाबारीस्थित बागलुङ बजार–भकुण्डे सडक खण्डमा लागूऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटना गराएको आरोपमा एक जना चालक बागलुङमा पक्राउ परेका छन्।

बागलुङको भकुण्डेबाट बागलुङ बजारतर्फ आउँदै गर्दा गएको असार २६ गते दिउँसो करिब ४:१५ बजे  बा १७ च ६३३१ नम्बरको बोलेरो जीप दुर्घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा चालकले लागू औषध सेवन गरेको देखिए पछि चालकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उक्त जिपका चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ स्थायी घर भई हाल बागलुङ नगरपालिका–११ बस्दै आएका २८ वर्षीय चिरञ्जिवी खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा जीप सडकबाट करिब दुई मिटर तल खसेको पाइएको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

प्रहरीले चालकमाथि लागूऔषध सेवन परीक्षण किट (THC) मार्फत परीक्षण गर्दा लागूऔषध सेवन गरेको पुष्टि भएको जनाएको छ। त्यसपछि उनलाई लागूऔषध सेवन गरी सवारी चलाएर दुर्घटना गराएको आरोपमा कानुनबमोजिम नियन्त्रणमा लिइएको हो।

यस घटनामा थप अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट असार २८ गते पाँच दिनको म्याद थप अनुमति प्राप्त भएको र अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार