भित्री आत्मा पोलेका गणेशले शरीर जलिरहेकै बेला आफ्नो कमाइ खाने मोटरसाइकल मागिरहे

भित्री आत्मा पोलेका गणेशले शरीर जलिरहेकै बेला आफ्नो कमाइ खाने मोटरसाइकल मागिरहे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ असार २०८३
  • 1.7K
    Shares

काठमाडौं, २६ असार २०८३।

२६ वर्षीय गणेश नेपाली, आफुले शरीरमा लगाएको आगो सल्किएर जलन हुँदा पनि उनले महानगरीय प्रहरीसंग आफ्नो मोटरसाइक्ल मागिरहेका थिए,”मलाई मेरो मोटरसाइकल ले”

पछिल्लो साढे दुई वर्षदेखि पठाओ चलाएर जीविकोपार्जन गर्दै आएका मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश नेपालीले महानगरीय प्रहरीको टोलीले आफ्नो मोटरसाइकलमा ह्विल लक् गरेको देख्न नसके पछि उनी आत्तिए र आफ्नै शरीरमा आगो लगाए। उनको शरीरमा लागेको आगोले भन्दा पनि उनको भित्री आत्माले पोलिरहेको थियो र उनी भन्दै थिए,””मलाई मेरो मोटरसाइकल ले”

शरीरना लागेको आगोको लप्काले भन्दा पनि न्यून आयका बीच त्यही कमाइले श्रीमती, दुई वर्षीया छोरी तथा गाउँमा रहेका वृद्ध आमा–बुबाको गुजारा कसरी चलाउने भन्ने पिडा बोकेका गणेशका लागि ह्विल लक् गरिएको मोटरसाइकल छुटाउन खर्चिनु पर्ने भारी रकमको चिन्ताले उनको मन भत्भती पोलेको थियो . उनले सहनै सकेनन, आफ्नो जीवन सिध्याउने निर्णय गरे र आफ्नै शरीरमा आगो लगाए।

जिउँदो रहेर गरी खान दिएन सरकारले, उनलाई त्यही समाज र सरकारले सहजै मर्न पनि दिएन। उनलाई तत्काल त्यहाँ उपस्थित स्थानीय मानिसहरु र सुरक्षाकर्मीहरुले तत्काल उद्धार गरेर अस्पताल पुर्याए।

राहदानी विभाग परिसरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भएका गणेश हाल वीर अस्पतालमा उपचाररत छन्। उनको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भाग गम्भीर रूपमा जलेको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था अझै चिन्ताजनक छ।

घटनापछि अस्पताल पुगेका दाजु मदन नेपालीका अनुसार गणेश निकै पीडामा थिए र बोल्नसमेत कठिन भइरहेको थियो। उसले मलाई एउटै कुरा भन्यो— ‘यो सबै महानगर प्रहरीले गर्दा भएको हो… आमा–बुवालाई राम्रो गर्नु।’ त्यसपछि उसले केही बोल्न सकेन,” मदनले भावुक हुँदै सुनाए।

करिब सात वर्षअघि रोजगारीको खोजीमा काठमाडौं आएका थिए। कृषि विषयमा जुनियर टेक्निसियन (जेटी) अध्ययन गरेका उनले पछिल्लो साढे दुई वर्षदेखि पठाओ चलाएर जीविकोपार्जन गर्दै आएका थिए।

उनको कमाइमै श्रीमती, दुई वर्षीया छोरी तथा गाउँमा रहेका वृद्ध आमा–बुबाको गुजारा चलिरहेको थियो। परिवारका अनुसार गणेश विदेश जाने तयारीमा समेत थिए र केही दिनअघि मात्रै दाजुसँग त्यसबारे छलफल गरेका थिए।

मदनका अनुसार गणेश आर्थिक ऋण वा पारिवारिक विवादका कारण तनावमा थिएनन्। उनी शान्त स्वभावका, कम बोल्ने र आफ्नै काममा केन्द्रित रहने व्यक्ति थिए।

यसैबीच काठमान्डौको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका २६ वर्षीय गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ। साथै सरकारले उनको थप बिसेष उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी लैजाने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार गणेशको गम्भीर स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै भारत पठाउने प्रक्रिया अघि बढाइएको हो। आवश्यक प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय तयारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संयुक्त रूपमा गरिरहेका छन्।

गृहमन्त्री र प्रधानमन्त्री सचिवालयको टोली वीर अस्पतालमा

घाइतेको स्वास्थ्य अवस्था बुझ्न तथा उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङसहित प्रधानमन्त्री सचिवालयका प्रतिनिधिहरू बिहीबार वीर अस्पताल पुगेका थिए। उनीहरूले उपचारमा संलग्न चिकित्सकसँग गणेशको स्वास्थ्य अवस्था र उपचारको प्रगतिबारे जानकारी लिएका थिए।

चिकित्सकको सुझावपछि बिरामीको अवस्था गम्भीर रहेकाले तत्काल भारत पठाउन आवश्यक सबै प्रक्रिया छिटो पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जनाइएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले उपचार खर्च सरकारले व्यहोर्ने निर्णय कुनै नयाँ व्यवस्था नभई विद्यमान कानुनअनुसार गरिएको कार्यान्वयन भएको बताइन्। सरकारले यस्ता घटनामा आवश्यक उपचार सुनिश्चित गर्ने नीति लिएको उनको भनाइ छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइसकिएको र आर्थिक अभावका कारण उपचारमा कुनै अवरोध आउन नदिने जनाएको छ।

घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाइरहेको जनाएको छ। सरकारले घाइतेको उपचार, सुरक्षा र उद्धारसँग सम्बन्धित सबै आवश्यक काम प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

एआइले तयार पारेको चित्र

प्रतिक्रिया