बच्चा जन्माउन धनुषा अस्पताल पुगेकी महिलाको अस्पतालमै छट्पटाउँदै गयो प्राण : शिशुको पनि पेटमै मृत्यु

बच्चा जन्माउन धनुषा अस्पताल पुगेकी महिलाको अस्पतालमै छट्पटाउँदै गयो प्राण : शिशुको पनि पेटमै मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ असार २०८३
  • 779
    Shares

dhanusha aspatal , प्रादेशिक अस्पताल जनकपुर

पोखरा, २५ असार २०८३।

धनुषास्थित प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा एक गर्भवती महिलासहित उनको गर्भमा रहेको शिशुको पनि मृत्यु भएको छ।

बच्चा जन्माउन प्रादेशिक अस्पताल जनकपुर पुगेकी धनुषाको सिरहा नगरपालिका–२१, लग्डीगोठ निवासी २३ वर्षीया कल्याणी पासवान र उनको गर्भमा रहेको शिशुको पनि मृत्यु भएको हो ।

अस्पतालमा उपचारका क्रममा कल्याणी पासवान र उनको गर्भको शिशुको मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरबाहीले गर्भवती र गर्भमा रहेको शिशुको मृत्यु भएको भन्दै बिरोध गरेका थिए।

गर्भमै मृत्यु भएको आठ महिनाको शिशु निकाल्न सोमबार अस्पतालमा भर्ना भएकी २३ वर्षीया कल्याणी पासवानको बुधबार उपचारकै क्रममा मृत्यु भएकोप्राप्त समाचारमा जनाइएको छ ।

मृतकका पति सतेन्द्र पासवानका अनुसार चिकित्सकले औषधिको माध्यमबाट मृत शिशु सामान्य प्रसूति प्रक्रियाबाट निकाल्ने आश्वासन दिएका थिए। उनले शल्यक्रिया (सिजेरियन) गरेर शिशु निकाल्न पटक–पटक आग्रह गरे पनि चिकित्सकले आवश्यक नभएको भन्दै पर्खिन भनेको आरोप लगाए।

उनका अनुसार बुधबार बिहान करिब १० बजे मृत शिशु सामान्य प्रसूति प्रक्रियाबाट बाहिरिए पनि त्यसलगत्तै कल्याणीमा अत्यधिक रक्तस्राव सुरु भएको थियो। रक्तस्राव रोक्ने प्रयासका साथै रगत चढाइए पनि स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि अस्पतालले दिउँसो करिब २ बजे थप उपचारका लागि विराटनगर रिफर गरेको थियो। तर, विराटनगर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको परिवारको भनाइ छ।

मृतकका आफन्त विद्या पासवानले अस्पतालले परिवारसँग पर्याप्त समन्वय नगरी हतारमा रिफर गरेर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाइन्। उनका अनुसार बिरामीलाई एम्बुलेन्समा राख्ने निर्णय गर्दा परिवारका सदस्यसँग पर्याप्त छलफल गरिएको थिएन।

पति सतेन्द्र पासवानले पनि उपचारमा संलग्न चिकित्सकको निर्णयका कारण आफ्नी पत्नीको ज्यान गएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि छानबिन, कानुनी कारबाही तथा उचित क्षतिपूर्तिको माग गरेका छन्।

घटनापछि आक्रोशित आफन्तहरूले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन्। तोडफोडको प्रयास भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने मृतकका आफन्त अस्पतालबाहिर धर्नामा बसेका छन्।

अस्पतालको स्पष्टीकरण

उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वाति जयसवालले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गरेकी छन्। उनका अनुसार मृत शिशु सामान्य प्रसूति प्रक्रियाबाट निकालिएको थियो र त्यसपछि अत्यधिक रक्तस्राव (पोस्टपार्टम हेमोरेज) भएका कारण बिरामीको अवस्था जटिल बनेको हो।

डा. जयसवालले यस्तो अवस्था शल्यक्रिया गरिएपछि पनि हुन सक्ने उल्लेख गर्दै बिरामीको अवस्था गम्भीर भएपछि परिवारसँगको समन्वयमै थप सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको दाबी गरिन्।

अनुसन्धानको माग

घटनापछि अस्पतालको उपचार प्रक्रिया र चिकित्सकीय व्यवस्थापनबारे प्रश्न उठेको छ। परिवारले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र उचित क्षतिपूर्ति दिन माग गरेको छ। यता अस्पतालले भने उपचार प्रक्रिया चिकित्सकीय मापदण्डअनुसार भएको दाबी गर्दै घटनाबारे आवश्यक छानबिनमा सहयोग गर्ने जनाएको छ।

प्रतिक्रिया