पोखरा, २१ असार २०८३।
फिफा विश्वकप–२०२६ अन्तर्गत राउन्ड अफ १६ का खेलहरूमा फ्रान्स र मोरक्कोले प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। अब यी दुई टोलीबीच सेमिफाइनल प्रवेशका लागि रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।
अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो। फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्यो।
एम्बाप्पेले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्। पाराग्वेका डिएगो गोमेजले फ्रान्सका डेसिरे डोउएमाथि फउल गरेपछि भिडियो सहायक रेफ्री (VAR) को समीक्षा पश्चात् पेनाल्टी दिइएको थियो।
दोस्रो हाफको अन्त्यतिर एम्बाप्पेले थप दुई अवसर सिर्जना गरे पनि पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले उत्कृष्ट बचाउ गर्दै फ्रान्सलाई थप गोल गर्नबाट रोके।
यससँगै फ्रान्स लगातार चौथोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। जारी विश्वकपमा एम्बाप्पेको यो सातौँ गोल हो। सर्वाधिक गोलकर्ताको सूचीमा उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन्। दुवैले समान ७–७ गोल गरेका छन्।
उता, अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न अर्को राउन्ड अफ १६ को खेलमा मोरक्कोले सहआयोजक क्यानडालाई ३–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो।
मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरे। ओउनाहीले खेलको ५०औँ र ८२औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। दुवै गोलमध्ये पहिलो गोल कप्तान अच्राफ हाकिमीको पासमा सम्भव भएको थियो। इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल थप्दै मोरक्कोको जित सुनिश्चित गरे।
सातौँपटक विश्वकप खेलिरहेको मोरक्को दोस्रोपटक क्वार्टरफाइनलमा पुगेको हो। सन् २०२२ को विश्वकपमा मोरक्को पहिलो अफ्रिकी राष्ट्रका रूपमा सेमिफाइनल पुगेको इतिहास रचेको थियो।
पहिलोपटक विश्वकपको नकआउट चरणमा पुगेको क्यानडा भने मोरक्कोसँगको हारपछि प्रतियोगिताबाट बाहिरिएको छ। यससँगै क्यानडा जारी विश्वकपबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ। आयोजक राष्ट्रमध्ये अमेरिका र मेक्सिकोको भने क्वार्टरफाइनल पुग्ने सम्भावना अझै कायम छ।
अब क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को आमनेसामने हुनेछन्। दुवै टोली उत्कृष्ट लयमा रहेकाले सेमिफाइनल प्रवेशका लागि हुने यो भिडन्त विश्वकपकै सबैभन्दा प्रतिक्षित खेलमध्ये एक हुने अपेक्षा गरिएको छ।