तनहुँ बन्दीपुरकी युवती दुई दिनदेखि सम्पर्कबिहिन : स्कुटर देवघाटमा भेटियो

तनहुँ बन्दीपुरकी युवती दुई दिनदेखि सम्पर्कबिहिन : स्कुटर देवघाटमा भेटियो


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, १७ असार २०८३
  • 2.4K
    Shares

पोखरा , १७ असार २०८३।

तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेल (बन्दीपुर बजार) निवासी २८ वर्षीया सन्तोषी श्रेष्ठ दुई दिनदेखि सम्पर्कविहीन भएकी छन्। प्रहरीले उनको खोजी तथा अनुसन्धानलाई निरन्तरता दिए पनि मङ्गलबार साँझसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन।

परिवारका अनुसार सन्तोषी आइतबार साँझदेखि सम्पर्कबाहिर छिन्। उनले प्रयोग गर्दै आएको बा.प्र.०६–००१ प १४९९ नम्बरको स्कुटर तनहुँ–चितवन सीमास्थित देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो।

परिवारले उनका मोबाइल फोनसमेत बन्द रहेको र सम्पर्कका सबै प्रयास असफल भएको जनाएको छ। हालसम्म उनी कहाँ र कुन अवस्थामा छिन् भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

सन्तोषीका बुबा कृष्णकुमार श्रेष्ठ, आमा ईश्वरी श्रेष्ठ तथा अन्य परिवारका सदस्य उनको खोजीमा जुटिरहेका छन्। चितवनको भरतपुर अस्पतालमा बीएससी नर्सिङ तेस्रो वर्षमा अध्ययनरत उनकी दिदी नारायणी श्रेष्ठले सम्भावित सबै स्थानमा खोजी गर्दा पनि अहिलेसम्म कुनै सुराक प्राप्त नभएको बताइन्।

उनका मितदाइ रोशन थापाका अनुसार देवघाट आसपासका क्षेत्रसहित अन्य सम्भावित स्थानमा प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्यलाई तीव्र बनाइएको छ।

प्रहरीले पनि खोजी अभियान जारी रहेको जनाएको छ। सन्तोषी श्रेष्ठको अवस्थाबारे कुनै जानकारी वा सुराक भएमा नजिकको प्रहरी कार्यालयमा वा परिवारलाई जानकारी गराई सहयोग गरिदिन परिवारले सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रतिक्रिया