काठमाडौं, १६ असार २०८३।
आफूलाई प्रहरी भन्दै एक व्यक्तिको झन्डै ११ लाख रुपियाँ बराबरको धनमाल लुटपाट गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जग्गा खरिद गर्न काठमाडौं आएका सर्लाहीको लालबन्दी नगरपालिका–८ खतिवडा चोक निवासी धनबहादुर मोक्तानलाई गएको असार ९ गते बेलुका करिब ७ बजे लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाडौं धापासी बस्ने ४३ वर्षीय रामशरण दमाई, काठमाडौं टोखा नगरपालिका–१ निवासी ३८ वर्षीय सविन खवास, पर्सा ठोरी गाउँपालिका–४ घर भई हाल काठमाडौं गौरीघाट बस्ने ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुली घ्याङलेख गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने ४६ वर्षीय शेरबहादुर मोक्तान रहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार असार ९ गते बेलुका करिब ७ बजे सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा बस्दै आएका शेरबहादुर मोक्तानका चिनजानका साथी सर्लाहीको लालबन्दी नगरपालिका–८ खतिवडा चोक निवासी धनबहादुर मोक्तान काठमाडौं आएका थिए।
जग्गा खरिद गर्ने उद्देश्यले काठमाडौं आएका धनबहादुरलाई ५–६ जनाको समूहले आफूहरू प्रहरी भएको भन्दै नियन्त्रणमा लिई हतकडी लगाएको प्रहरीले जनाएको छ। त्यसपछि उनीसँग रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएका थिए।
घटनापछि प्रहरीले अनुसन्धान तीव्र पार्दै असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट घटनामा संलग्न चार जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट दुई लाख रुपैयाँ नगद (एक हजार दरका नोट) बरामद गरेको जनाएको छ।
पक्राउ परेकाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।