पोखरा, १३, असार २०८३
जेन्जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार भएका एक कैदी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार मिति २०८३ असार १३ गते बिहान करिब २:५० बजे जिल्ला कास्की पोखरा महानगरपालिका–३२ मजुवा स्थित पृथ्वीराजमार्ग सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय शिशुवा र लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरातर्फ आउँदै गरेको ग २ ख १४११ नम्बरको सार्वजनिक बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने ३३ वर्षीय नरेश गुरुङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले गुरुङको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम र मोबाइल एक थान बरामद गरेको जनाएको छ।
गुरुङ लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएका व्यक्ति हुन्। उनी कारागार कार्यालय कास्कीमा थुनामा रहेको अवस्थामा मिति २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा फरार भएका थिए।
पक्राउ परेका गुरुङलाई आजै कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।