प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगरको जिप दुर्घटनामा मृत्यु

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगरको जिप दुर्घटनामा मृत्यु


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, १३ असार २०८३
  • 1.3K
    Shares

पोखरा, १३ असार २०८३।

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको जिप दुर्घटनामा मृत्यु भएको छ। स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप शनिबार साँझ बाङ्गेसल्ला क्षेत्रमा सडकबाट करिब ६ सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उपप्रमुख राना आफैंले जिप चलाइरहेका थिए र दुर्घटनाका बेला गाडीमा उनी एक्लै सवार थिए। नगरपालिकाको योजना अनुगमनका क्रममा कर्मचारीसँगै निस्किएका रानाले एक योजना अनुगमनपछि कर्मचारीलाई छाडेर अर्को स्थानतर्फ एक्लै गाडी लिएर हिँडेका थिए।

स्वर्गद्वारी नगरपालिका–२ का वडाध्यक्ष गिरबहादुर गुरुङका अनुसार गाडीले च्यापिएर रानाको घटनास्थलमै मृत्यु भएको थियो। जंगलमा पशु चराउन गएका गोठालाले दुर्घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनलाई अचेत अवस्थामा गाडीले च्यापिएको अवस्थामा फेला पारी उद्धार गरेको थियो।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। राना राष्ट्रिय जनमोर्चाबाट निर्वाचित उपप्रमुख हुन्।

प्रतिक्रिया