पोखरा , १३ असार २०८३।
मोरङ जिल्ला कारागारका कैदीबन्दीसँग अवैध रूपमा रकम असुली गरेको तथा उनीहरूको भत्ता हिनामिना गरेको आरोपमा पक्राउ परेका विराटनगरका कांग्रेस युवा नेता अभिषेक गिरीको समर्थन र विरोधमा कारागारभित्र प्रदर्शन भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रबार बिहान विराटनगर–१० स्थित आफ्नै निवासबाट गिरीलाई पक्राउ गरेको हो। पक्राउसँगै कारागारभित्र दुई पक्षमा विभाजित कैदीबन्दीहरूले प्लेकार्डसहित प्रदर्शन गरेका छन्।
जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार ब्लक ‘बी’ मा रहेका कैदीबन्दीहरूले गिरीको समर्थनमा प्रदर्शन गरेका छन्। यिनै ब्लकका कैदीबन्दीको करिब १३ लाख ४० हजार रुपैयाँ बराबरको भत्ता दुरुपयोग गरेको आरोप भने गिरीमाथि लागेको छ।
यता, ब्लक ‘ए’ का कैदीबन्दीहरूले गिरीविरुद्ध प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। प्रहरीले गिरीको घरमा खानतलासी गरेपछि उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेपछि गिरीले छाती दुखेको गुनासो गरेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
गिरी यसअघि अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा ९ वर्ष कैद सजाय भुक्तान गरी करिब दुई वर्षअघि कारागारबाट रिहा भएका थिए। रिहाइपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए। तर, कारागारबाट बाहिरिएपछि पनि उनले जेलको आन्तरिक व्यवस्थापनमा हस्तक्षेप गर्दै आएको आरोप लाग्दै आएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।