विवाहको प्रलोभन देखाएर १५ लाख रुपैयाँभन्दा बढी ठगी : स्याङजाका युवासहित दुईजना काठमाण्डौमा पक्राउ

विवाहको प्रलोभन देखाएर १५ लाख रुपैयाँभन्दा बढी ठगी : स्याङजाका युवासहित दुईजना काठमाण्डौमा पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, ३ असार २०८३
  • 2K
    Shares

काठमाडौं ३ असार २०८३ ।

विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाएर सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा स्याङजाका एक युवासहित दुई जना काठमाण्डौमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्याङ्जाको भीरकोट नगरपालिका–२ लुगाडाँडा घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३९ वर्षीय सञ्जिव नेपाली र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ घर भई हाल काठमाडौं माछापोखरी बस्ने ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सामाजिक सञ्जाल टिकटकमार्फत आफू अमेरिकामा रहेको र नेपाली बोल्न नआउने भन्दै अंग्रेजी भाषामा कुराकानी गर्ने एक व्यक्तिले पीडितलाई विवाह गर्ने र अमेरिका लैजाने आश्वासन दिएका थिए।

‘प्रिन्स तामाङ’ नामको टिकटक आईडी (@princetamang431) प्रयोग गर्ने व्यक्तिले आफ्नो वास्तविक अनुहार नदेखाई पीडितसँग सम्पर्क गरेको र पछि आफूलाई बहिनी बताउँदै सरगम तामाङ नामबाट ह्वाट्सएपमा कुराकानी गर्न लगाएर पटक–पटक रकम मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पीडितले दिएको उजुरीका आधारमा प्राविधिक अनुसन्धान गर्दा उक्त ठगी कार्यमा संलग्न व्यक्ति सञ्जिव नेपाली र उनकी श्रीमती सरिता पराजुली रहेको खुलेको साइबर ब्यूरोले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले पीडितबाट विभिन्न समयमा गरी १५ लाख १० हजार ५०० रुपैयाँ ठगी गरेको आरोप छ।

साइबर ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी विद्युतीय माध्यमसम्बन्धी ठगी अपराधमा अनुसन्धान अघि बढाएको छ। उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पांच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले देखाउने वैदेशिक रोजगारी, विवाह वा आर्थिक अवसरका प्रलोभनमा पर्दा सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया