काठमाडौँ, ६ असार २०८३।
नवलपरासीमा एकाबिहानै बस र ट्रक ठोक्किदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०६६५ नम्बरको बसले नवलपरासीको बर्दघाट नगरपालिका-२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान पांच बजे यात्रु ओराली सडक मोड्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको ना.५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको हो भने तीन जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ बस्ने ३० वर्षीया नेहा गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही दुर्घटनामा परेर सोही स्थानका ३२ वर्षीय मदन क्षेत्री, बस चालक बर्दघाट नगरपालिका-४ बस्ने ४८ वर्षीय लक्ष्मण ज्ञवाली र प्रतापपुर गाउँपालिका–९ बस्ने ३५ वर्षीय दिनानाथ चौधरी घाइते भएका प्राप्त समाचारमा जनाइएको छ।
घाइतेमध्ये ज्ञवालीलाई थप उपचारका लागि देवदह मेडिकल कलेज, रुपन्देही रिफर गरिएको छ भने अन्यको चिसापानि अस्पतालमा उपचार भइरहेको छ।
बसमा सवार १५ जनामध्ये ११ जना सकुशल रहेका छन् । दुर्घटनापछि ट्रक चालक धादिङ सिद्धलेक गाउँपालिका-३ बस्ने २३ वर्षीय विष्णु थापा मगरलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।