पोखरा , ६ असार २०८३।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले संयुक्त रुपमा संचालन गरिरहेको ‘अपरेशन ३६५’ अभियान अन्तरगत बुधबार राति पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुबाट २३ वटा स्वरुप परिवर्तन (मोडिफाई) गरिएका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरेको छ।
प्रहरीले दिएको जानकारीअनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ११ वटा, वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले चार वटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले आठ वटा गरी जम्मा २३ वटा मोडिफाइड मोटरसाइकल नियन्त्रणमा लिएको हो।
गएको असोज २७ गतेदेखि पोखरामा शुरु गरिएको यस अभियान अन्तरगत मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने, साइलेन्सर फेरेर पड्किने आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने चालकहरूलाई कारबाही गर्ने गरिएको छ ।
अभियान अन्तर्गत हालसम्म सात सय १२ भन्दा बढी सवारी साधन र तिनका चालकहरू कारबाहीमा परेका छन् भने जरिवाना बापत एककरोड ८० लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन भइसकेको छ। यता चेकिङका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गर्ने, झै-झगडा गर्ने र नियम उल्लंघन गर्ने ३६ जना भन्दा बढी चालकहरूलाई नियन्त्रणमा लिई ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ (अभद्र व्यवहार) मा मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ।
यसैबीच सवारी साधनको मूल स्वरुप परिवर्तन गरी चलाउने प्रवृत्ति नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको जनाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी धनीलाई आफ्नो सवारी साधन पूर्ववत् अवस्थामै प्रयोग गर्न आग्रह गरेको छ। साथै मोडिफिकेशन गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई पनि यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ।
प्रहरीले सवारी साधनको स्वरुप परिवर्तन गरी चलाएको पाइएमा सवारी धनी तथा सो कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ।
पटक-पटक एउटै गल्ती दोहोर्याउने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नै निलम्बन गर्नका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीको दाबी छ। तर कति वटा सवारी चालकहरुको लाइसेन्स निलम्बन गर्न सिफारिश गरिएको छ भन्ने बारेमा प्रहरीले केही बताएको छैन।