अमेरिकाको क्यालिफोर्नियामा अमेरिकी वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अमेरिकी वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु


  • एजेन्सीहरु
  • मंगलबार, २ असार २०८३
  • 855
    Shares

पोखरा, २ असार २०८३।

एजेन्सी । दक्षिणी क्यालिफोर्नियास्थित एडवर्ड्स एयर फोर्स बेसबाट उडान भरेको केही समयमै अमेरिकी वायुसेनाको बी–५२ स्ट्राटोफोर्ट्रेस (B-52 Stratofortress) बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै आठ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार सोमबार बिहान ११:२० बजे नियमित परीक्षण उडानमा रहेको विमान एयर बेस क्षेत्रभित्रै दुर्घटनामा परेको अमेरिकी वायुसेनाले जनाएको छ। प्रारम्भिक विवरणअनुसार दुर्घटना अत्यन्तै भीषण भएकाले कोही पनि जीवित बच्न नसकेको बताइएको छ।

दुर्घटनापछि घटनास्थलबाट कालो धुवाँको ठूलो मुस्लो आकाशमा फैलिएको थियो, जुन टाढासम्म देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

४१२औँ टेस्ट विंगका कमाण्डर कर्नेल जेम्स हेयसले पत्रकार सम्मेलनमा भने, “आज एडवर्ड्स एयर फोर्स बेसले एउटा ठूलो त्रासदी भोगेको छ। हामीले आठ महान् अमेरिकी गुमाएका छौँ।”

मृतकहरूमा सैन्य कर्मचारी, सरकारी कर्मचारी तथा सरकारी ठेकेदारहरू रहेको जनाइएको छ। तीमध्ये दुई जना विमान निर्माता कम्पनी बोइङका कर्मचारीसमेत रहेका छन्।

दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको अमेरिकी वायुसेनाले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार अनुसन्धान प्रक्रिया पूरा हुन करिब छ महिनासम्म लाग्न सक्ने बताइएको छ।

प्रतिक्रिया