पोखरा, २ असार २०८३।
गोरखामा कुटपिट गरेर एक युवाको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
गोरखा नगरपालिका–७ छिपिनीटोलस्थित गोरखा घर दोहोरी साँझ नजिक सडकमा गएको जेठ २७ गते राति करिब साढे १२ बजेको समयमा वारपाक सुलिकोट गाउँपालिका–३ निवासी ३२ वर्षीय सन्तबहादुर गुरुङलाई कुटपिट गरेर हत्या गरेको आरोपमा चार जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका–७ रोटेपानीका २४ वर्षीय वोनस शाक्य, धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल गोरखा नगरपालिका–८ बगैंचा बस्ने २३ वर्षीय मिङमर गुरुङ, सिरानचोक गाउँपालिका–२ थालाजुङका २९ वर्षीय होमराज गुरुङ र धार्चे गाउँपालिका–१ हुलचुकका २४ वर्षीय सन्तोष गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका सुचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार , उनीहरुले त्यस दिन लात्तीमुक्का तथा ढुंगाले टाउकोमा हानेर गम्भीर घाइते बनाएका सन्तबहादुर गुरुङको प्रदेश अस्पताल गोरखा पुर्याइएको थियो। उपचारपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका गुरुङ गएको जेठ २९ गते दिउँसो अचानक अचेत भएर ढलेका थिए। उनलाई पुनः प्रदेश अस्पताल गोरखा ल्याई उपचार गरिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध गोरखा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।