भारतले एकतर्फी रुपमा बैरगनिया बाँध अग्ल्यायो, गौरसहित दर्जनौँ नेपाली बस्ती डुबानको उच्च जोखिममा

भारतले एकतर्फी रुपमा बैरगनिया बाँध अग्ल्यायो, गौरसहित दर्जनौँ नेपाली बस्ती डुबानको उच्च जोखिममा


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, १ असार २०८३
  • 741
    Shares

पोखरा, १ असार २०८३।

रौतहटको गौर–बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतको नाममा अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्रचलित नियमको बेवास्ता गर्दै बाँधलाई थप अग्लो र बलियो बनाएको पाइएको छ। स्थानीयवासी र सरोकारवालाले यसले वर्षायाममा गौरसहित दर्जनौँ नेपाली बस्ती थप डुबानको जोखिममा पर्ने चेतावनी दिएका छन्।

नेपाल–भारत सीमाको दशगजा क्षेत्र वा त्यसको आसपास दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने व्यवस्था भए पनि भारतीय पक्षले एकतर्फी रूपमा बाँधमा माटो थपेर उचाइ र चौडाइ बढाइरहेको स्थानीयको आरोप छ।

स्थानीय अमित केशरीका अनुसार बैरगनिया क्षेत्रमा भारतले आफ्ना सहरहरूलाई बाढीबाट जोगाउन करिब १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध निर्माण गरेको छ। सोही बाँधका कारण वर्षायाममा लालबकैया र बागमती नदीको प्राकृतिक बहाव अवरुद्ध हुँदा गौरसहित आसपासका नेपाली बस्ती डुबानमा पर्दै आएका छन्।

उनका अनुसार बाँधमा रहेका तीनवटा सुलीसगेटसमेत भारतीय पक्षले बन्द गरिदिने गरेका कारण बाढीको पानी निकास नपाएर नेपाली भूभागतर्फ फर्किने गरेको छ। यही कारण हरेक वर्ष गौर नगर क्षेत्र जलमग्न हुने गरेको स्थानीयको भनाइ छ।

नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले बाँध अग्लिँदै जाँदा नेपालतर्फबाट बग्ने नदीहरूको पानीले निकास नपाउने र त्यसको प्रत्यक्ष असर गौर तथा आसपासका बस्तीमा पर्ने बताए। उनका अनुसार गौरमा बाढीको पानी बाहिरिने पर्याप्त निकास नहुँदा प्रत्येक वर्ष ठूलो धनजन तथा बालीनालीको क्षति हुने गरेको छ।

गौर नगरपालिकाका पूर्वनगरप्रमुख अजयकुमार गुप्ताले नेपाल–भारतबीचको समझदारीविपरीत भारतीय पक्षले बाँध मर्मतको बहानामा मनोमानी ढंगले विस्तार गरिरहेको आरोप लगाए। उनले वाग्मतीदेखि बकैया नदीपारि बन्जराहा क्षेत्रसम्म फैलिएको बाँधका कारण गौर नगर क्षेत्र वर्षेनि प्रभावित हुँदै आएको बताए।

यस विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षी सितामढी जिल्लाकी जिल्ला अधिकारी (डीएम) रुचि पाण्डेसँग ध्यानाकर्षण गराइसकेको जानकारी दिएका छन्। उनका अनुसार भारतीय पक्षले भने केन्द्रीय सरकारको निर्देशनअनुसार बाँध मर्मतको काम भइरहेको जवाफ दिएको छ।

स्थानीयवासी तथा सरोकारवालाले सीमा र अन्तर्राष्ट्रिय सन्धिसँग जोडिएको विषय भएकाले नेपाल सरकारले कूटनीतिक पहलमार्फत स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन्।

भारतीय बाँधका कारण रौतहटको राजदेवी नगरपालिकाका बेलबिछुवा, ब्रह्मपुरी, लक्ष्मीपुर, गौर नगरपालिकाका विभिन्न वडा तथा ईशनाथ नगरपालिकाका बैरिया, औरैया र बन्जराहा लगायतका बस्ती हरेक वर्ष डुबानको मारमा पर्दै आएका छन्। डुबानका कारण स्थानीयले करोडौँ रुपैयाँ बराबरको धनजन र कृषि उत्पादनमा क्षति व्यहोर्दै आएका छन्।

प्रतिक्रिया