पोखरा, ३१ जेठ २०८३।
अछामको ढकारी गाउँपालिका–४ कि वडा सदस्य ३५ वर्षीया मनिषा देवी साउँद मृत अवस्थामा भेटिएकी छिन् ।
शुक्रबार बिहान करिब ११ बजेदेखि सम्पर्कविहीन भएकी वडा सदस्य साउद ढकारी गाउँपालिका–४ बलाताूथित घरदेखि करिब ५०० मिटर टाढा रहेको पालेवन क्षेत्रभित्र मृत अवस्थामा भेटिएकी हुन् ।
प्रहरीका अनुसार, परिवारले शनिबार दिउँसो करिब २ बजे प्रहरी चौकी ढकारीमा हुलियासहित खोजीका लागि निवेदन दिएका िथए भने प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले उनकाे खोजतलास शुरु गरेको थियो। खोजीका क्रममा आइतबार साँझ करिब ५ बजे साउँद घरदेखि करिब ५०० मिटर टाढा रहेको पाले वन क्षेत्रभित्र सालको रुखमा प्लास्टिकको डोरीले झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव परीक्षण तथा अन्य अनुसन्धानात्मक प्रक्रिया पूरा भएपछि घटनाबारे थप विवरण सार्वजनिक हुने प्रहरीले बताएको छ।
मृतक साउद र उनकै वडाका नेकपाका स्थानीय नेतालाई एउटै काेठाभित्र रंगेहात फेला परेकाे भन्दै सामाजिक सञ्जालमा भिडियो समेत सार्वजनिक भएको थियाे । उक्त घटनापछि भने उनी बेपत्ता भएकी थिईन् । सार्वजनिक भिडियोमा स्थानीयले महिला र पुरूष दुवैलाई केरकार गरेकाे देखिन्छ ।
यस घटनासँग सम्बन्धित विभिन्न दाबी र सामग्री सामाजिक सञ्जालमा प्रसारित भइरहेका छन्। यद्यपि ती सामग्रीको सत्यता तथा घटनासँग तिनको सम्बन्धबारे प्रहरीले हालसम्म कुनै आधिकारिक पुष्टि गरेको छैन।
प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ। अधिकारीहरूले पुष्टि नभएका सूचना वा अफवाहहरू सामाजिक सञ्जालमा शेयर नगर्न तथा आधिकारिक जानकारीलाई मात्र आधार बनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।