गोरखाको रोधिघरमा कुटपिटबाट घाइते श्याम गुरुङको मृत्यु, चार जना पक्राउ

गोरखाको रोधिघरमा कुटपिटबाट घाइते श्याम गुरुङको मृत्यु, चार जना पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, ३१ जेष्ठ २०८३
  • 1.1K
    Shares

gorkha गोरखामा रोधीघरमा कुटपिटपछि घाइते श्याम गुरुङको मृत्यु

गोरखा,  ३१ जेठ २०८३।

गोरखा नगरपालिका–नयाँबजारस्थित एक रोधीघरमा भएको कुटपिट घटनामा गम्भीर घाइते भएका श्याम भनिने सन्तबहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार गत बुधबार राति रोधीघरबाट निस्कने क्रममा गुरुङमाथि निर्घात कुटपिट भएको थियो। मुड्की, लात्ती तथा ढुङ्गा प्रहारबाट घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो।

उपचारपछि घर फर्किएका गुरुङ शुक्रबार दिउँसो आफ्नै घरमा अचानक बेहोस भएर ढलेपछि पुनः गोरखा अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको मृतककी दिदी सनमाया गुरुङले जानकारी दिएकी छन्।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा गोरखा नगरपालिका–७ रोहटेपानीका बोनस शाक्य, धार्चे गाउँपालिका–२ का मिङ्मार गुरुङ, धार्चे गाउँपालिका–१ हुलचुकका सन्तोष गुरुङ तथा सिरानचोक गाउँपालिका–२ थालाजुङका होमराज गुरुङ रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया