पोखरा, ३१ जेठ २०८३।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेकी रमपम चाउचाउ उद्योगमा कार्यरत एक महिला मजदुरको निधन भएको छ।
रमपम चाउचाउ उद्योगमा रात्रीकालिन ड्युटी सकेर घर फर्कदै गरेको अवस्थामा बुधबार बिहान करिब ६:१५ बजे सुनसरीको खनार चोकस्थित जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्कर लागेर गम्भीर घाइते भएकी गोराहा नगरपालिका–३ की तुलसा फुयालको उपचारका क्रममा निधन भएको हो।
उक्त दुर्घटनामा गम्भीर घाइते भएकी फुयाललाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि स्थानीय बासिन्दा र सहकर्मीहरू शोकमा डुबेका छन्। नियमित ड्युटी सकेर घर फर्किने क्रममा भएको यो दुर्घटनाले स्थानीय क्षेत्रमा शोक र स्तब्धता फैलाएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। सडक सुरक्षाको विषयमा पुनः प्रश्न उठ्दै गर्दा जेब्रा क्रसिङमै भएको यो घटनाले पैदल यात्रुको सुरक्षा कमजोर रहेको देखाएको स्थानीयहरूले बताएका छन्।