दाङमा ५२ लाख रुपियाँभन्दा बढी मूल्यको सुनसहित दुई जना पक्राउ

दाङमा ५२ लाख रुपियाँभन्दा बढी मूल्यको सुनसहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, ३० जेष्ठ २०८३
  • 3.5K
    Shares

पोखरा३० जेठ २०८३।

दाङ प्रहरीले आधा करोडभन्दा बढी मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–७ सुनपतरी नाका निवासी ४० वर्षीय रुपलाल गिरी र रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–६ मग्माका २२ वर्षीय दिलिप परियार रहेका छन्।

भारतबाट खरिद गरी ल्याइएको सुनको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डा. हेमबहादुर केसीले जानकारी दिए।

प्रहरीका अनुसार लमही नगरपालिका–९ अमेलियास्थित नमस्ते होटेलको एक कोठामा सुनको कारोबार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय अमेलियाबाट खटिएको टोलीले शुक्रबार साँझ छापा मारेको थियो। सो क्रममा रुपलाल गिरी र दिलिप परियारलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूको साथबाट दूइसय १४.५०० ग्राम सुन (पहेँलो धातु) बरामद गरेको जनाएको छ। बरामद सुनको हालको बजार मूल्य करिब ५२ लाख ७४ हजार रुपैयाँ रहेको अनुमान गरिएको छ।

प्रारम्भिक अनुसन्धानमा रुपलाल गिरीले भारतबाट सुन ल्याएको र दिलिप परियार खरिदकर्ताको भूमिकामा रहेको खुलेको प्रहरीले जनाएको छ।

बरामद सुनको स्रोत, कारोबारमा संलग्न अन्य व्यक्तिहरू तथा तस्करी सञ्जालबारे थप अनुसन्धान भइरहेको डीएसपी केसीले जानकारी दिएका छन्। प्रहरीले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया