पोखरा, ३० जेठ २०८३।
महोत्तरीको बर्दिवास नगरपालिका–१२ विजलपुरामा एक महिलाको रहस्यमय मृत्यु भएपछि रातभर अवस्था तनावग्रस्त बनेको छ। मृतक पिंकी महतोको माइती पक्षले उनको हत्या भएको आरोप लगाउँदै घर घेराउ गरी तोडफोड गरेपछि रातभर तनाबग्रस्त नबनेको हो।
शुक्रबार साँझ ८ बजे बर्दिवास–१२ विजलपुरा निवासी रामबाबु सिंहकी बुहारी पिंकी महतो घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। गौशाला नगरपालिका–११ कान्तिबजार माइती भएकी पिंकीको मृत्युको खबर पाएलगत्तै उनका माइती पक्षका दर्जनौं व्यक्ति विजलपुरा पुगेका थिए। आक्रोशित माइती पक्षले घरमा पसेर तोडफोड गर्नुका साथै घरमा रहेका एक कार, एक मोटरसाइकल र एक स्कुटीमा आगजनी समेत गरेका छन्।
घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बर्दिवास र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प पशुपतिनगरको बाक्लो टोली र माइती पक्षबीच झडप हुँदा करिब एक दर्जनभन्दा बढी घाइते भएका छन्। सुरक्षाकर्मीले समयमै आगो निभाएकाले थप क्षति हुनबाट जोगिएको छ।
यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।