मुस्ताङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

मुस्ताङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • 5.7K
    Shares

mustang accident, मुस्ताङ् दुर्घटना

पोखरा, २९ जेठ २०८३।

मुस्ताङमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबार साँझ मुक्तिनाथबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ८३ नम्बरको यात्रुवाहक बसले थासाङ गाउँपालिका–२ कोखेठाँडी नजिक बेनी–जोमसोम सडकखण्डको मोडमा विपरीत दिशाबाट आइरहेको ग ७ प ५०२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक थासाङ गाउँपालिका–१ टुकुचे निवासी २८ वर्षीय प्रमाण थकाली गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल जोमसोम पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो।

उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार थासाङ गाउँपालिका–१ टुकुचेकी २५ वर्षीया अपेक्षा थकाली घाइते भएकी छन्। उनको थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस र बस चालक पोखरा महानगरपालिका–३३ बागमारा निवासी २३ वर्षीय सन्तोष बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

प्रतिक्रिया