डोल्पा सदरमुकाम दुनैमा कौडा खेलिरहेका काइके गाउँपालिका अध्यक्षसहित ६ जना पक्राउ

डोल्पा सदरमुकाम दुनैमा कौडा खेलिरहेका काइके गाउँपालिका अध्यक्षसहित ६ जना पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • 1.6K
    Shares

Angat अंगत कुमार राना , केके गौपलिका अध्यक्ष डोल्पा

पोखरा, २९ जेठ २०८३।

डोल्पाको सदरमुकाम दुनैमा जुवा खेलिरहेको अवस्थामा काइके गाउँपालिकाका अध्यक्षसहित ६ जना पक्राउ परेका छन्।

जिल्ला सदरमुकाम दुनै बजारस्थित स्थानीय पञ्च बुढाको घरको माथिल्लो तलामा पैसाको हारजित हुने गरी जुवा (पारा/कौडा) खेलिरहेको अवस्थामा बिहीबार दिउँसो करिब ३ बजे काइके गाउँपालिकाका अध्यक्ष अंगतकुमार रानामगरसहिसहित ६ जना पक्राउ परेका हुन् ।

सोहि जुवाखालबाट अध्यक्ष रानासहित ठुलीभेरी नगरपालिका–३ का ५१ वर्षीय पञ्च बुढा, त्रिपुरासुन्दरी नगरपालिका–७ का ३३ वर्षीय सागर श्रेष्ठ, ठुलीभेरी नगरपालिका–५ का ३८ वर्षीय ओमबहादुर रोकाया, काइके गाउँपालिका–५ घर भई हाल ठुलीभेरी नगरपालिका–३ बस्ने ५० वर्षीय हिराबहादुर रोकाया, ठुलीभेरी नगरपालिका–४ का ५३ वर्षीय इन्द्रबहादुर रोकायालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

पक्राउ परेका रानामगर काइके गाउँपालिकाका वर्तमान अध्यक्ष हुन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट गाउँपालिका अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए। हाल उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध रहेको बताइएको छ।

प्रहरीले घटनास्थलबाट नगद ४९ हजार आठ सय रुपैयाँ, पारा दुई थान, कौडा ४६ थान तथा सात थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया