काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र न्यायाधीशको दस्तखत किर्ते गर्ने गोरखाका युवा पक्राउ

काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र न्यायाधीशको दस्तखत किर्ते गर्ने गोरखाका युवा पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, २७ जेष्ठ २०८३
  • 2.4K
    Shares

पोखरा, २६ जेठ २०८३।

काठमाडौँ जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत तथा अदालतको छापसमेत किर्ते गरी नक्कली अदालतीय सूचना तयार पारेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गोरखाको आरुघाट गाउँपालिका–७ स्थायी घर भई हाल टोखा बस्दै आएका २६ वर्षीय विवस अधिकारीलाई पक्राउ गरेको हो।

सिआइबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र खड्काका अनुसार अधिकारीले काठमाडौँ जिल्ला अदालतको नक्कली लेटरप्याड प्रयोग गरी मुद्दा खोल्ने तथा पुनःप्रमाणीकरणसम्बन्धी झुट्टा सूचना तयार पारेका थिए। उनले अदालतको अन्तिम निर्णयपछि आफ्नो बैंक खातामा दुई करोड १३ लाख रुपैयाँ जम्मा हुने व्यहोरासहितका कागजातसमेत किर्ते गरेको अनुसन्धानबाट खुलेको छ।

यस्तै, २०८२ चैत २४ गतेको मिति राखी अदालतले एक लाख छ हजार रुपैयाँ सेवा शुल्क बुझाउन आदेश दिएको भनी झुट्टा लिखतसमेत तयार पारेको पाइएको प्रहरीले जनाएको छ। अदालतबाट सामान्यतया जारी नहुने प्रकृतिका विवरण उल्लेख गरी नक्कली कागजात बनाइएको अनुसन्धानमा देखिएको छ।

प्रहरीका अनुसार उनले अदालतको लेटरप्याड, न्यायाधीश, श्रेस्तेदार तथा शाखा अधिकृतको दस्तखत र अदालतको आधिकारिक छापसमेत किर्ते गरी प्रयोगमा ल्याएका थिए।

अदालतका कर्मचारीको उजुरीका आधारमा सिआइबीले उनलाई काठमाडौँको सतुङ्गल क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउपछि गरिएको खानतलासीमा विभिन्न किर्ते कागजात बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया