भारतीयलाई नागरिकता दिलाएको आरोपमा दाङमा वडाध्यक्षसहित चार जना पक्राउ

भारतीयलाई नागरिकता दिलाएको आरोपमा दाङमा वडाध्यक्षसहित चार जना पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २६ जेष्ठ २०८३
  • 3.3K
    Shares

भारतीयलाई नेपाली नागरिकता दिलाएको भन्दै पक्राउ परेका दाङको राजापुरका वडाध्यक्ष रामेश्वर अहिरसहितका पदाधिकारी

पोखरा, २६ जेठ २०८३।

दाङमा भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाउन भूमिका खेलेको आरोपमा एक वडाध्यक्षसहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर, वडा सचिव तथा स्थानीय पञ्जिकाअधिकारी राजेशकुमार कहर, कार्यालय सहायक मीना चौधरी र स्थानीय आलम जोल्दा रहेका छन्।

जिल्ला अदालत दाङले सोमबार उनीहरूलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ। यस प्रकरणमा इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेमबहादुर खवास र भारतीय नागरिक आयशा जोल्दाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको भए पनि उनीहरू हाल फरार छन्। प्रहरीले दुवै जनाको खोजी जारी रहेको जनाएको छ।

अनुसन्धानका क्रममा आलम जोल्दाले २०७५ कात्तिक २८ गते वंशजका आधारमा नागरिकता प्राप्त गरेको खुलेको छ। उक्त नागरिकता इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको थियो, जसमा तत्कालीन कार्यालय प्रमुख खवासको हस्ताक्षर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भारतीय नागरिक भनिएकी आयशा जोल्दा नागरिकता सिफारिस प्रक्रियामा सूचक बसेकी थिइन्। उनको विवाह भारतमा भएको बताइएको छ।

घटनामा थप शंका उत्पन्न हुने गरी आलमका बुवा सुनाउल्ला जोल्दाको मृत्यु मिति सम्बन्धी विवरण सरकारी अभिलेख र नागरिकता सम्बन्धी कागजातमा फरक–फरक भेटिएको छ। प्रहरीका अनुसार एक अभिलेखमा उनको मृत्यु २०३८ वैशाख १५ गते र अर्को सरकारी अभिलेखमा २०५८ वैशाख ११ गते उल्लेख गरिएको छ।

आलम जोल्दाको नागरिकताबारे २०८१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो। सोही आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको हो।

प्रकरणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया