जेन जी आन्दोलनमा जेल तोडेर भागेका कैदी कपिलबस्तुमा पक्राउ

जेन जी आन्दोलनमा जेल तोडेर भागेका कैदी कपिलबस्तुमा पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २६ जेष्ठ २०८३
  • 2.2K
    Shares

ZEN Z आन्दोलनमा भागेका कैदी कपिलबस्तुमा पक्राउ

पोखरा, २६ जेठ २०८३।

गएको भदौ २३ र २४ गते नेपालमा भएको जेन जी आन्दोलनका क्रममा जेल तोडेर भागेका एक जना कैदी कपिलबस्तुमा पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जेन जी आन्दोलनका क्रममा काठमाण्डौको नख्खु कारागारबाट भागेका कैदी कपिलवस्तुको साविक उदयपुर गाविस–८ हाल महाराजगञ्ज नगरपालिका–६ बन्जरिया निवासी ५८ वर्षीय राम जैस मौर्या फेरी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार मौर्यालाई कर्तव्य ज्यान मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २०६३ माघ २२ गते ५ वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि २०६५ माघ ६ गतेको अर्को फैसलाले उनलाई २० वर्ष जन्मकैदको सजाय तोकिएको थियो। कैद भुक्तानका लागि जिल्ला कारागार कपिलवस्तुमा राखिएका मौर्या अन्य सात जनासहित सुरुङ खनेर कारागारबाट फरार भएका थिए। त्यस घटनासम्बन्धी थुनुवा कैदी भागे–भगाएको मुद्दामा २०६८ जेठ १० गतेको फैसलाले उनलाई थप २५ वर्ष ३ महिना ३ दिन कैद सजाय तोकिएको थियो।

यस्तै, कर्तव्य ज्यान मुद्दामै तत्कालीन पुनरावेदन अदालत बुटवलले २०६९ असोज १५ गते कैद लगत संशोधन गर्दै २० वर्ष कैद हुने फैसला गरेको थियो। त्यसअघि उनी २०६८ असार १३ गते पक्राउ परेर कैद भुक्तानका लागि नख्खु कारागार, ललितपुर पठाइएका थिए।

प्रहरीका अनुसार मौर्या २०८२ भदौ २४ गते कारागारभित्र भएको आन्दोलनका क्रममा नख्खु कारागारबाट पुनः फरार भएका थिए।

फरार प्रतिवादीको खोजीका क्रममा प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले उनलाई २०८३ जेठ २४ गते कृष्णनगर नगरपालिका–१ कुकुरभुकुवा क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेका मौर्यालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तानका लागि २०८३ जेठ २५ गते जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया