पोखरा , २४ जेठ २०८३।
पोखराको प्रसिद्ध पर्यटकीय गन्तव्य फेवातालमा अचानक आएको तीव्र हावाहुरीका कारण तालको बीच भागमा अलपत्र परेका १२ जना पर्यटकलाई सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार अपराह्न ४:३५ बजे पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा बोटिङ गरिरहेका पर्यटकहरू हावाहुरीका कारण तालको बीचमा फसेका थिए। अलपत्र पर्नेहरूमा तनहुँ, काठमाडौं र कास्कीका आन्तरिक पर्यटकसँगै जापानबाट आएकी एक विदेशी पर्यटक पनि रहेकी थिइन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण मुख्यालय कालिका, कास्की अन्तर्गत फेवा रेस्क्यु टावरमा खटिएको १० सदस्यीय विशेष उद्धार टोली तत्काल परिचालन गरिएको थियो।
उद्धार टोलीले प्रतिकूल मौसमका बीच जोखिमपूर्ण अवस्थामा फसेका एक जापानी नागरिकसहित १२ जनालाई सुरक्षित रूपमा किनारमा ल्याएको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै मानवीय क्षति नभएको बताइएको छ।
सशस्त्र प्रहरीले मौसम प्रतिकूल भएका बेला ताल तथा नदीमा मनोरञ्जनात्मक गतिविधि गर्दा विशेष सावधानी अपनाउन पर्यटक तथा सर्वसाधारणलाई आग्रह गरेको छ।