सुनसरीको भन्टाबारीमा गएराती सीटी सफारी र मोटरसाइकल ठोक्किए : प्रहरी जवान पौडेलको मृत्यु

सुनसरीको भन्टाबारीमा गएराती सीटी सफारी र मोटरसाइकल ठोक्किए : प्रहरी जवान पौडेलको मृत्यु


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, २३ जेष्ठ २०८३
  • 1.4K
    Shares

काठमाण्डौ, २३ जेठ २०८३।

सुनसरीको भन्टाबारीमा गएराती सीटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा शुक्रबार राति करीब १० बजेको समयमा स ११ प २५०० नम्बरको मोटरसाइकल प्र १–०२–००३ ह १०५२ नम्बरको सीटी सफारीसँग ठोक्किएर दुर्घटनाग्रस्त हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर संखुवासभाको प्रहरी चौकी चेपुवा लिंगम दरबन्दी भई हाल सुनसरीको प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका–२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दिप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

कार्यालयको काम विशेषले प्रहरी चौकी कोशी ब्यारेजबाट जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ मोटरसाइकलमा आउने क्रममा उनी दुर्घटनामा परेको डीएसपी खड्काले बताए ।

उनका अनुसार प्रहरी जवान पौडेलले चलाएको स ११ प २५०० नम्बरको मोटरसाइकल प्र १–०२–००३ ह १०५२ नम्बरको सीटी सफारीसँग ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका पौडेललाई उद्धार गरेर उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल भोक्राहा लगिएको भए पनि चिकित्सकले राति १०ः२० बजेतिर मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि सीटी सफारी चालक कोशी गाउँपालिका–८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट प्रहरी नायब निरीक्षक (सई) सुरेश यादवको नेतृत्वमा खटिएको टोलीले दुवै सवारी साधन नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक रहेका प्रहरी जवान पौडेलले सडकमा ध्यान नदिँदा र तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया