काठमाण्डौ, २३ जेठ २०८३।
झापाको दमकमा युवतीको हत्या गरी शव बोरामा हालेर फालिएको घटनामा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन्ला।
गत जेठ १६ गते दमक–१० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारिएको अवस्थामा मृत भेटिएकी दमक–८ की २१ वर्षीया रमा तिवारीको हत्या आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, ग्राम पञ्चायत मिरसियाकला, थाना भरगामाका घर भै हाल दमक नगरपालिका वडा नम्बर ५ मा डेरा गरी टाइल्स तथा मार्बल जडानको ठेक्कापट्टाको काम गर्ने ३४ वर्षीय राकेश कुमार पण्डित (रमेशकुमार) रहेको प्रहरीले जानकारी दिएको छ। उनलाई जेठ २१ गते राति दमकस्थित डेराबाट नियन्त्रणमा लिइएको हो।
प्रहरी अनुसन्धानका अनुसार, दमकमा कार्यरत टाइल्स मिस्त्री पण्डित र मृतक रोमाबीच पुरानै चिनजान रहेको र घटना भएको रात पैसाको लेनदेनलाई लिएर विवाद उत्पन्न भएको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
तिवारी र पण्डितबिच जेठ १६ गते भेट भएको थियो। दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकैको झाडीमा उनीहरूबिच शारीरिक सम्पर्क भएको र त्यसबापत पण्डितले पैसा समेत दिएको खुलेको छ । तर, थप रकमको विषयलाई लिएर दुवैबिच विवाद शुरु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
‘आर्थिक लेनदेनमा कुरा नमिलेपछि किशोरीले जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिएको र सोही आवेगमा पण्डितले घाँटी थिचेर हत्या गरेको बयानबाट देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । हत्यापछि शव व्यवस्थापनका लागि पण्डितले अर्को मोटरसाइकल मे २ प ८२३ प्रयोग गरी शवलाई बोरामा बाँधेर पुलमुनि फालेका थिए।
आरोपीको डेरा नजिकै विवाद बढेपछि राति ११ बजेको आसपासमा राकेशले रोमाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। राति हल्ला हुँदा बदनाम हुने डरले आफूले हत्या गरेको आरोपीले बयानका क्रममा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसुन्धरा खड्काले जानकारी दिइन्।
प्रहरीका अनुसार, युवतीको हत्या गरेपछि पण्डितले आफ्नै कोठाबाट सेतो बोरा ल्याएर शवलाई प्याक गरेका थिए। राति नै उनले भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा शव लोड गरेर दमक-१० स्थित रतुवा खोलाको पुलमुनि (सेतुमारी क्षेत्र) फालेको थिए। हत्या गरेर शव व्यवस्थापन गरिसकेपछि आरोपी रातभर निदाउन सकेनन्।
भोलिपल्ट अर्थात् जेठ १४ गते बिहानै उनी दमकमा रहेको पशुपति मन्दिरमा पुगेर गल्ती भयो भन्दै प्रायश्चित्त गरी क्षमायाचना र पूजा समेत गरेको प्रहरी स्रोतले जनाएको छ। शव फालिएको ३ दिनपछि अर्थात् जेठ १६ गते मात्र स्थानीयले बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
पक्राउ परेका पण्डितविरुद्ध ज्यान सम्बन्धी कसुर तथा जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान अघि बढाएको छ।