प्रदेश अस्पताल जोमसोममा स्वास्थ्य सेवामाथि बढ्दो दबाब

प्रदेश अस्पताल जोमसोममा स्वास्थ्य सेवामाथि बढ्दो दबाब


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, २३ जेष्ठ २०८३
  • 1.3K
    Shares

काठमाडौँ, २३ जेठ २०८३।

प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। गर्मीयामसँगै पर्यटक आगमन र स्थानीयको आवागमन बढ्दा अस्पतालको सेवा उपयोग गर्नेहरूको सङ्ख्या बढेको हो।

अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म आठ हजार छसय ६७ जनालाई सेवा प्रदान गरेको जनाएको छ। यद्यपि २५ शययाको स्वीकृत क्षमता भए पनि पूर्वाधार अझै १५ शययाको सीमाभित्र सञ्चालन भइरहेको छ, जसले सेवा व्यवस्थापनमा चुनौती थपेको छ।

गर्मीयाम शुरु भइसकेको र पर्यटकलाई मुस्ताङ भ्रमण गर्न अनुकूल भएकाले यहाँको प्रदेश अस्पताल जोमसोममा बिरामीको सङ्ख्या अपेक्षाकृत रूपमा ह्वात्तै बढेको प्रदेश अस्पताल जोमसोमका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिइन् । गर्मीयाम भएकाले मुस्ताङका स्थानीय बेसी छोडेर जिल्ला फर्किएका र यहाँ आएका पर्यटक विभिन्न कारणले बिरामी पर्ने समस्याले अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि हुन पुगेको उनले बताइन् ।

डा कँडेलका अनुसार , हाल तीन कोठामा २५ शययामा बिरामीलाई वार्डमै राखेर ईमरजेन्सी सेवा प्रवाह गर्ने गरिएको छ । ४२ जनाको दरबन्दी रहेको यस अस्पतालमा प्रसूती सेवासँगै अन्य सेवा उपलब्ध भएकाले बिरामीले अस्पताल खचाखच हुन पुगेको हो ।

स्वास्थ्य सेवा प्रवाहतर्फ एक एमडीजीपी चिकित्सकसहित ६, अस्पताल नर्सिङ निरीक्षक दुई, स्टाप नर्स दुई, नर्सिङ अधिकृत दुई, स्वास्थ्य सहायक दुई र अनमी दुई जना छन् । अस्पतालअन्तर्गत मुक्तिनाथमा स्वास्थ्य सहायक तीन र कार्यालय सहयोगी एक जना रहेका अस्पतालले जनाएको छ ।

यो अवस्थाले पर्यटनमुखी तथा दुर्गम जिल्लाहरूमा स्वास्थ्य पूर्वाधार विस्तार, जनशक्ति व्यवस्थापन र सेवा क्षमता अभिवृद्धिको आवश्यकतालाई पुनः उजागर गरेको छ।

प्रतिक्रिया