पोखरा, २२ जेठ २०८३।
निजी विद्यालयको शुल्क विवादबारे छलफल गर्न इलाका प्रहरी कार्यालय हरकठवा बोलाइएका एक अभिभावकमाथि प्रहरीले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
धनकौल गाउँपालिका–५ का फेकु दासलाई स्थानीय साइनिङ स्टार एकेडेमीले बाँकी शुल्क असुलीका लागि दिएको उजुरीको विषयमा छलफल गर्न प्रहरी कार्यालय बोलाइएको थियो। दासले विद्यालयको सबै शुल्क तिरिसकेको दाबी गर्दै कागजातमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि प्रहरीले आफूलाई कुटपिट गरेको आरोप लगाएका छन्।
कुटपिटबाट उनको हात, तिघ्रा र पिठ्युँमा चोट लागेको बताइएको छ। उपचारका लागि उनलाई बरहथवास्थित अस्पताल लगिएको थियो।
यता प्रहरीले भने दास मादक पदार्थ सेवन गरेर आएको र प्रहरीमाथि हातपात गर्न खोजेपछि आत्मरक्षाका लागि लाठी प्रयोग गरिएको दाबी गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रविन्द्रनाथ पौडेलले घटनाबारे छानबिन सुरु भइसकेको जानकारी दिँदै प्रहरीबाट कमजोरी देखिए विभागीय कारबाही गरिने बताएका छन्। घटनाको सत्यतथ्य पत्ता लगाउन डीएसपी वेदप्रसाद गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।
विद्यालय सञ्चालक सञ्जय साहले भने पटक–पटक ताकेता गर्दा पनि बाँकी शुल्क नतिरेकाले प्रशासनमा उजुरी दिनुपरेको बताएका छन्।